Digital Newspaper of Nepal
| Thursday, 18 January 2018
Subscribe Google+
Smart 4G

अबको पाँच वर्षमा मागभन्दा बढी बिजुली उत्पादन हुने

NIC Bank, Long AD

December 31, 2017

काठमाडौं । निर्माणाधीन केही आयोजना सम्पन्न हुने तयारीमा रहेका बेला अबको पाँच वर्षमा मागभन्दा बढी बिजुली उत्पादन हुन लागेको छ । निर्माणाधीन आयोजनाहरुको निरन्तर अनुगमन गर्दा यो अनुमान गर्न सकिने आधार देखिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वणिर्म वाग्ले पनि विभिन्न आयोजना सम्पन्न हुने चरणमा रहेका कारण अबको पाँच वर्षमा मागभन्दा बढी बिजुली उत्पादन हुन्छ ।
सरकारी टोलीले हालै गरेको अध्ययनअनुसार स्वदेशी आयोजनाबाट ०७९ सालसम्ममा ५८ सय ७४ मेगावाट विद्युत उत्पादन हुनेछ । त्यतिबेला विद्युतको माग ४५ सय १९ मेगावाट मात्र हुनेछ । पुस ०७५ मा चार सय ५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना सञ्चालन आउने सम्भावना छ । वैशाख ०७५ मै उत्पादन थाल्ने लक्ष्य रहे पनि भारतीय कम्पनी टेक्सम्याकाको ढिलासुस्तीका कारण केही पर धकेलिएको हो, उक्त आयोजना ।
त्यस्तै, तामाकोशी आएसँगै वर्षायाममा मुलुक लगभग बिजुलीमा आत्मनिर्भर बन्नेछ । अहिले सुख्खायाममा करिब चार सय मेगावाट भारतबाट आयात भइरहेको छ । अन्य निजी आयोजनाहरु निर्माणको गति पनि तीव्र रहेकाले असार ०७६ देखि मुलुक बिजुलीको आत्मनिर्भरतामा पुग्ने अवस्था छ । त्यतिबेलासम्ममा वर्षायाममा मागभन्दा बढी बिजुली उत्पादन हुनेछ । र, बाँकी बिजुली निर्यात पनि गर्न सकिने छ । अहिले ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले ‘वेट टेस्ट’ सम्पन्न गरिसकेको छ । अबको केही समयमै उक्त आयोजनाबाट उत्पादन शुरु हुनेछ ।
१४ मेगावाटको कुलेखानी(तेस्रोको निर्माणलाई पनि तीव्रता दिने हो भने तामाकोशीभन्दा पहिले नै राष्ट्रिय प्रसारण लाइनमा आवद्ध हुनेछ, उक्त आयोजना । यद्यपि, अहिले निर्माणाधीन आयोजनाहरु ‘रन अफ दी रिभर’ र ‘पिकिङ रन अफ दी रिभर’मा आधारित छन् । विद्युत आयोजनाहरु जलाशयमा आधारित हुँदा मात्र बाह्रैमास एकैनासको उत्पादन लिन सकिने हो । विद्युत उत्पादन र वितरणमा पूर्ण आत्मनिर्भर बन्न नेपाललाई अझै १० वर्ष लाग्ने मुख्य कारण पनि यही हो ।
‘जलाशययुक्त आयोजना निर्माण गर्न कम्तीमा सात वर्ष लाग्छ । त्यसैले अबको १० वर्षभन्दा अगाडि पूर्ण आत्मनिर्भर हुने कल्पना गर्न सकिँदैन,’ विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन् । नयाँ सरकारले जलाशययुक्त आयोजनाहरु अगाडि बढाउन सके पाँच वर्षमा ती निर्माणको अन्तिम चरणतिर भने प्रवेश गर्दै गरेका हुनेछन् ।