Digital Newspaper of Nepal
| Monday, 21 August 2017

शर्माको रिट भण्डारीको इजलाशमा सुनुवाई हुँदै

जुलाई 12, 2017


काठमाडौं । कर निर्धारणमा अनियमितता गरेको आरोपमा एक महिनादेखि अख्तियारको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग राखी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । शर्माकी पत्नी कल्पना उप्रेती शर्माले आफ्ना पतिलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गरेकी हुन् । शर्माले दिएको रिट निदेवन आजकै लागि पेशी तोकिएको छ । न्यायाधीस पुरुषोत्तम भण्डारीको एकल इजलाशले रिट निवेदनको सुनुवाई गदैछ ।

निवेदकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अख्तियारका अनुसन्धान अधिकृतलाई विपक्षी बनाएकी छन् । कर फस्र्यौट आयोगका कामकारबाहीमाथि प्रश्न उठाउन नपाइने भन्दै निवेदनमा उनको थुना गैरकानूनी भएको जिकिर गरिएको छ । खाना लिएर अख्तियारमा जाँदा प्रहरीले शर्मा र उनकी पत्नीलाई दुव्र्यवहार समेत गरेको भन्दै आफ्ना पति चुडामणि शर्माको ज्यानको सुरक्षा गर्न समेत उनकी श्रीमती कल्पनाले रिटमा माग गरेकी छिन् । अख्तियारले करिब डेढसय फाइलमाथि अनुसन्धान गरेर करिब ९ अर्ब ६ करोड रुपैयाँ बिगो निर्धारण हुनसक्ने आंकलनका साथ शर्मामाथि ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरेको थियो । विशेष अदालतले शर्मामाथिको धरौटी मागलाई सदर गरी त्यो नबुझाउञ्जेल शर्मालाई थुनामा राख्न अख्तियारलाई अनुमति दिएको थियो । अख्तियारले शर्मासहित कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि समेत छानबिन थालेपनि दुवैजना फरार रहेका छन् ।