Digital Newspaper of Nepal
| Monday, 26 June 2017

ग्रिसको आप्रवासी शिविरमा भीषण आगलागी

सेप्टेम्बर 20, 2016

४ असोज, एजेन्सी । ग्रिसको लेसबोस आइल्याण्डमा रहेको आप्रवासी शिविरमा आगलागी भएको छ । आगलागीका कारण शिविरमा रहेका चार हजार भन्दा धेरै आप्रवाशीलाई सुरक्षित स्थानमा सारिएको छ । भीषण आगलागीका कारण शिविरमा रहेका टेन्ट तथा प्रिफ्याब घर नष्ट भएका छन् । आगलागीमा परि कोही घाइते भएको वा कसैको ज्यान गएको खबर आएको छैन ।
प्रहरीले घटनाको छानबिन गरिहेको छ । शिविरमा कसैले जानीजानी आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । तर सहायताकर्मीले भने खानाका लागि आप्रवासीबिच भएको विवादपछि आगलागी सुरु भएको बताएका छन् । लेसबोस आइल्याण्डमा अहिले पाँच हजार ६ सय भन्दा धेरै आप्रवासी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तर आइल्याण्डको क्षमता भने तीन हजार ६ सय मात्रै हो । आगलागीका कारण शिविरको ३० प्रतिशत भाग नष्ट भएको छ ।