Digital Newspaper of Nepal
| Monday, 26 June 2017

दुई वर्षभित्र १४ सय मेगावाट विद्युत उत्पादन

सेप्टेम्बर 20, 2016

४ असोज, काठमाडौं । सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र १ हजार ४ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् निजी क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै उक्त लक्ष्य अगाडि सारेको हो ।
प्राधिकरणले निर्माण गरिरहेको ३२ मेगावाट क्षमताको चमेलिया र कुलेखानी तेस्रो आयोजनालाई आगामी माघसम्म सम्पन्न गर्ने बताएको छ । कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको हो ।
यस्तै सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजनालाई पनि छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरिनेछ । त्यसमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना प्रमुख रहेको छ । सो आयोजनाको क्षमता ४ सय ५६ मेगावाट रहेको छ । आगामी मङ्सिरदेखि बाँधस्थल तथा अन्य भौतिक पूर्वाधारको काम अगाडि बढाइनेछ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको सो आयोजनाको निर्माण सुरु भइसकेको छ ।
यस्तै चिलिमे जलविद्युत् आयोजनाका सहायक कम्पनीमार्फत अगाडि बढेका साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी आयोजनाको निर्माणलाई पनि गति दिइनेछ ।
ऊर्जा मन्त्री जनार्दन शर्माले प्राधिकरणकै अर्को महत्वपूर्ण आयोजना माथिल्लो त्रिशुली थ्री ए निर्माणमा भइरहेको ढिलाइ छिट्टै अन्त्य हुने र त्यसका लागि आवश्यक पहल गरिएको बताउनुभएको छ ।
उहाँले प्राधिरकण र यसका सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनाबाट ८ सय ५० मेगावाट, निजी प्रवद्र्धकबाट ४ सय मेगावाट तथा सौर्य, जैविकलगायत स्रोतबाट २ सय मेगावाट गरी कुल एक हजार ४ सय ५० मेगावाट विद्युत् आन्तरिक ग्रीडमा थप गरिने जानकारी दिनुभयो ।
यस्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ६ सय मेगावाट विद्युत् आयात गरिने सम्झौता यसअघि नै भइसकेको छ । ढल्केबरमा चिनियाँ ठेकेदारले सवस्टेसन निर्माणको काम अगाडि बढाइरहेको छ ।
ढल्केबरमा दुई सिफ्ट्मा काम
ऊर्जा मन्त्री शर्माले ढल्केबरमा सवस्टेसन निर्माण प्रक्रियाले गति लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल दैनिक दुई सिफ्ट्मा सवस्टेसन निर्माण भइरहेको छ । चिनियाँ ठेकेदारले दैनिक ३०० बढी मजदुर परिचालन गरिरहेको छ ।’
सवस्टेसन आगामी मङ्सिर अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो सवस्टेसन निर्माण सम्पन्न भएपछि भारतबाट थप विद्युत् आयात गर्न सहज हुनेछ । २ सय २० केभी क्षमताको सो सवस्टेसनबाट थप विद्युत् आयात गरिने र मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने सरकारको लक्ष्य छ ।
यस्तै ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रभावकारी अनुगमन भइरहेकाले निर्माणमा रहेका महत्वपूर्ण परियोजना तोकिएको समयमा नै सम्पन्न हुने प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैयालाल मानन्धर बताउनुहुन्छ ।
चुहावट नियन्त्रण अभियान निरन्तर
यस्तै चुहावट नियन्त्रण एवम् ऊर्जा दक्षता कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने सरकारको योजना रहेको छ । प्राधिकरणका नवनियुुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणलाई प्रमुख कार्ययोजनाका रुपमा अगाडि सार्ने कार्यसूची सार्वजनिक गर्नुभएको छ ।
केन्द्रीय प्रसारण लाइनमा प्रवाह हुने विद्युत्मध्ये २५ प्रतिशत विद्युत् चुहावट हुने प्राधिकरणको भनाइ छ । चुहावट मात्रै नियन्त्रण गर्न सके २ सय ५० मेगावाट बराबरको विद्युत् जोगाउन सकिने प्राधिकरणको भनाइ छ ।
यस्तै प्राधिकरणको बक्यौता पनि दश अर्ब रुपैयाँ रहेको छ । बक्यौता एवम् चुहावट नियन्त्रणलाई अभियानका रुपमा अगाडि बढाउने र सो अभियान निरन्तर राख्ने मन्त्रालयले जनाएको छ ।
ठूलो क्षमताको प्रसारण लाइन बनाइने
सरकारले हाल प्रचलनमा रहेका साना तथा मझौला क्षमताका प्रसारण लाइनको सट्टामा ४ सय केभीदेखि ७ सय ६५ केभी क्षमताका ठूला प्रसारण लाइन निर्माण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाउने भएको छ । प्राधिकरणले हाल ११ केभीदेखि ४ सय केभी क्षमताका मात्रै प्रसारण लाइन निर्माण गरिरहेको छ ।
एकाध वर्षभित्र दस हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले ठूलो क्षमताको प्रसारण राजमार्ग जरुरी रहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे बताउनुहुन्छ । त्यसमा नदीको क्षमता अनुसार उत्तर–दक्षिण जोड्ने उच्च भोल्टेज क्षमताका प्रसारण लाइनको निर्माण कार्य थालनी गर्ने र मध्य पहाडी राजमार्गको निश्चित खण्डमा पनि उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गरिने सरकारको लक्ष्य रहेको सहसचिव घिमिरेको भनाइ छ । रासस