Digital Newspaper of Nepal
| Monday, 21 August 2017

जिका भाइरसको संक्रमणबाट सजग हुन विज्ञहरुको आग्रह

सेप्टेम्बर 7, 2016

भदौ २२ एजेन्सी ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमण फैलिएको क्षेत्रबाट फर्किएका व्यक्तिले कम्तिमा ६ महिना सुरक्षित यौन सम्बन्ध राख्नु बताएको छ । यौन सम्पर्कबाट पनि जिका भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने डब्लुएचओले जनाएको छ । जिका भाइरसको लक्षण नदेखिएका व्यक्तिले पनि ६ महिनासम्म सुरक्षित यौन सम्बन्ध राख्नु पर्नेछ । केही हप्ताअघि इटालीका एक व्यक्तिमा पहिलो पटक जिका भाइरस संक्रमणको लक्षण देखिएको ६ महिनापछि पनि जिका भाइरसको संक्रमण रहेको पत्ता लागेको थियो ।
यसपछि डब्लुएचओले संक्रमण फैलिएको ठाउँ गएर फर्किएका व्यक्ति तथा त्यहीँ रहेका व्यक्तिले पनि ६ महिनासम्म सुरक्षित यौन सम्बन्ध राख्नु पर्ने बताएको हो । यसअघि डब्लुएचओले संक्रमणको लक्षण नदेखिएका व्यक्तिले मात्रै कण्डम प्रयोग गर्नु पर्ने वा ८ हप्तासम्म यौन सम्बन्धबाट टाढा रहनुपर्ने बताएको थियो । एक पटक जिका भाइरसको संक्रमण भएका व्यक्तिमा फेरि पनि संक्रमण हुन सक्ने सम्भावना निकै कम हुने विशेषज्ञले बताएका छन् ।
जिका भाइरसको संक्रमण भएका धेरैमा लक्षण देखिँदैन । केहीमा भने हल्का ज्वरो आउने र शरीरका विभिन्न भागमा धब्बा देखिन्छ । जिकाले सबैभन्दा बढी गर्भमा रहेका शिशुमा प्रभाव पर्ने गरेको छ । ब्राजिलमा जिका भाइरसको संक्रमण बढी फैलिएको छ ।
डब्लुएचओका अनुसार अहिलेसम्म ११ देशमा यौन सम्पर्कका कारण जिका भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । अहिलेसम्म ६० भन्दा धेरै देशमा जिकाको संक्रमण फैलिएको छ ।