Digital Newspaper of Nepal
| Saturday, 23 March 2019

नयाँ शक्ति नेपालले चन्दा संकलनका बिषयमा विधि र सीमा निर्धारण

March 1, 2016

१८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी त्यागेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति नेपालले चन्दा संकलनका बिषयमा विधि र सीमा निर्धारण गरेको जनाएको छ ।
नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयको बैठकले गरेको निर्णय अनुसार विनासर्त एक आर्थिक वर्षमा व्यक्तिबाट ५० हजार रुपैयाँ र संस्था, फर्म, कम्पनीबाट २० लाख रुपैयाँभन्दा धेरै चन्दा नलिने नयाँ शक्ति नेपालले स्पष्ट पारेको छ ।
चन्दा दिने व्यक्ति, संस्था, फर्म, कम्पनीको नाम, ठेगाना र दिएको रकमको अभिलेख राखिने र यस्तो विवरण प्रत्येक छ महिनामा नयाँ शक्ति नेपालको वेबसाइटमा सार्वजनिक गरिने नयाँ शक्तिले जनाएको छ । दश हजार भन्दा माथिको चन्दा बैंक चेकबाट मात्र लिइने उसले स्पष्ट पारेको छ ।
नयाँ शक्ति नेपालले दाताको नाम र ठेगाना नखुलेको स्रोतबाट चन्दा, दान, दातव्य ग्रहण नगर्ने सपष्ट पार्दै भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘यदि कुनै दाताले व्यक्तिगत सुरक्षाका कारण आफ्नो नाम सार्वजनिक नगर्न चाहेमा नयाँ शक्ति नेपालको आन्तरिक अभिलेखमा जनाई नाम सार्वजनिक गरिने छैन । तर नेपालको संविधान र प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले यस्ता दाताको विवरण माग गरेमा उपलब्ध गराइनेछ ।’
विदेशी नागरिक, वहालवाला सरकारी कर्मचारी तथापूर्णतः नेपाल सरकारको अनुदानमा आश्रित वा नेपाल सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको संस्थाका कर्मचारी,प्रचलित कानुन बमोजिम बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा सार्वजनिक ठेक्कामा गलत काम गरी कालो सूचीमा परेको व्यक्ति, फौजदारी अभियोगमा जेल परेको व्यक्ति, भ्रष्टाचारको अभियोगमा छानबिनको क्रममा रहेको, मुद्दामा रहेको वा अदालतले भ्रष्टाचारी भनी फैसला गरेको व्यक्ति, विदेशमा दर्ता भएको संस्था, नेपालमा दर्ता भएको भएपनि बिदेशी सरकारको ५१ प्रतिशत भन्दा बढी स्वामित्व भएको कम्पनीको सब्सिडीयरी संस्था, फर्म वा कम्पनी, धार्मिक, साम्प्रदायिक उद्देश्य भएका र त्यस्ता गतिविधि गर्ने संस्थाबाट पार्टीले चन्दा नलिने भट्टराईको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक वर्षको बैशाख र कात्तिक महिना समय तोकी चन्दा संकलन अभियान चलाइने भन्दै विज्ञप्तिमा नयाँ शक्ति नेपालको आधिकारिक परिचयपत्र, प्रचार सामग्री र चन्दाको लागि गरिएको अपिल सहित कम्तिमा पाँच जनाको समूहले घरदैलो कार्यक्रम गरी चन्दा संकलन गर्ने स्पष्ट पारिएको छ ।