Digital Newspaper of Nepal
| Monday, 11 December 2017
Election, Long AD

भूकम्पले ऊर्जा क्षेत्रमा पौने १५ अर्बको क्षति

NIC Bank, Long AD

जुन 16, 2015

Urja१ असार, काठमाडौं । भूकम्पबाट ऊर्जा क्षेत्रमा करिब पौने १५ अर्ब रुपैयाँको क्षति पुगेको छ । ऊर्जा मन्त्रालयको नेतृत्व तथा विश्व बैंकको अगुवाइमा भएको अध्ययनले यस्तो देखाएको हो ।
अध्ययन प्रतिवेदनले निजी, सार्वजनिक र सौर्य ऊर्जामा करिब १४ अर्ब ८० करोड ७५ लाख रुपैयाँको क्षति भएको देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी क्षति स्वतन्त्र ऊर्जा उत्पादकहरूको भएको छ । प्रतिवेदनअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको भौतिक क्षति ७ अर्ब २० करोड ५७ लाख रुपैयाँ छ भने सौर्य ऊर्जाको ४ अर्ब ३० करोड ६४ लाख रुपैयाँ छ । सबैभन्दा कम क्षति सार्वजनिक क्षेत्र (विद्युत् प्राधिकरण) को छ । सार्वजनिक क्षेत्रको क्षति ३ अर्ब २० करोड ५४ लाख रुपैयाँको छ । निजी क्षेत्रसँग करिब २ सय ५६ मेगावाट र विद्युत् प्राधिकरणसँग करिब ४ सय ५४ मेगावाट विद्युत् उत्पादन गर्ने प्लान्ट छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको समूहमा भने विद्युत् प्राधिकरणअन्तर्गत गठित चिलिमेलगायत कम्पनी पनि पर्छन् । यसअघि निजी क्षेत्रका आयोजनामा मात्र करिब अढाइ अर्ब रुपैयाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको छ ।
एडीबी, जाइका, नर्वे्जियन दूतावास र यूएनडीपीको पनि सक्रिय सहभागिता रहेको अध्ययनले क्षतिको विस्तृत विवरण भने दिएको होइन । ‘प्रसारण लाइन र ग्रिड सबस्टेसनको क्षति मूल्यांकन गरिएको छैन,’ प्रतिवेदनमा उल्लेख छ । अध्ययनले ६ लाख ३ हजार घरधुरीले विद्युत् गुमाएको देखाएको छ । त्यसमध्ये ९१ हजार २ सय घरधुरीले प्रसारण लाइनबाट प्राप्त हुने ग्रिड इलेक्ट्रसिटी र बाँकीले अफ ग्रिड विद्युत् (सोलर आदि) गुमाएको प्रतिवेदनमा उल्लेख छ । ‘समयमै नयाँ घर बने विद्युत् आपूर्ति सूचारु हुन १२ देखि २४ महिना लाग्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन भूकम्प प्रभावित १४ जिल्लामा गरिएको हो । ती जिल्लामा रसुवा, गोर्खा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, मकवानपुर, ललितपुर, भक्तपुर र काठमाडौं छन् । अध्ययनका लागि प्राधिकरण, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तथ्यांक संकलन तथा ऊर्जा मन्त्रालयले तथ्यांक प्रशोधन गरेका हुन् ।
अध्ययनले भूकम्पबाट १ सय १५ मेगावाट जलविद्युत् उत्पादन गर्ने प्लान्ट बन्द भएको र ६० मेगावाट बराबरको प्लान्टमा आंशिक क्षति पुगेको देखाएको छ । ‘प्राधिकरण र आईपीपीको निर्माणाधीन करिब १ हजार मेगावाटमा आंशिक क्षति पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ४२ सबस्टेसन र ५७ प्रसारण लाइनमा आंशिक क्षति भए पनि सञ्चालनमा रहेको छ । ‘तर टावरको जग, पहिरोबाट र संरचनामा पुगेको क्षति यकिन भइनसकेको,’ प्रतिवेदनमा उल्लेख छ ।